त्रिएक परमेश्वरको सेवकाइसम्बन्धी विशेषता भनेको उहाँको सर्वव्यापीपन हो। हाम्रो परमेश्वर सर्वव्यापी हुनुहुन्छ। सारा स्वर्गहरू र पृथ्वी उहाँको महिमाले भरिएका छन् (यशैया ६:३), अनि कुनै व्यक्ति उहाँबाट गुप्त स्थानमा लुक्न सक्दैन (यर्मिया २३:२४)। यदि हामी माथि स्वर्गमा जान्छौँ भने, परमेश्वर पुत्र र परमेश्वर पवित्र आत्मा त्यहाँ हुनुहुन्छ (मत्ती १०:२०; १६:१७; प्रेरित १६:६-७; रोमी ८:९,११; १ पत्रुस १:११)। यदि हामी पातालमा जान्छौँ भने उहाँहरू त्यहाँ हुनुहुन्छ, हामी समुद्रको पल्लो छेउमा गएर बस्यौँ भने पनि उहाँहरू त्यहाँ हुनुहुन्छ (भजन १३९:८-९; आमोस ९:२), र हामी पानीबाट भएर जाँदा अथवा आगोबाट हिँडेर जाँदा, उहाँहरू त्यहाँ हुनुहुन्छ (यशैया ४३:२)। हामी जहाँ जान्छौँ, त्रिएक परमेश्वरको उपस्थिति हाम्रो साथमा हुन्छ। उहाँ एकै समयमा यहाँ हुनुहुन्छ अनि त्यहाँ पनि हुनुहुन्छ, तसर्थ हामीले उहाँको उपस्थितिलाई पन्छाउन सक्दैनौँ।
त्रिएक परमेश्वर स्थानीयरूपमा सर्वव्यापी हुनुहुन्छ, र अझै भन्ने हो भने उहाँ समयको आयामको भित्र अनि बाहिर दुवै किसिमले सर्वव्यापी हुनुहुन्छ। त्रिएक परमेश्वरको उपस्थिति अनन्तदेखि अनन्तैसम्म हुन्छ। आदमको पतनपछि मानवजाति समयको आयामभित्र आएर समयको प्रतिवन्धहरूको अधिनमा जिउनु पर्यो। त्यसैले समयको सीमाभित्र रहेका मानिसहरूका निम्ति अनन्तको परिप्रक्ष्यलाई बुझ्न अति कठिन हुन्छ।
त्रिएक परमेश्वरको अस्तित्व असीमित उत्कृष्ठ अनि अनन्त संसारमा छ, तर त्यही समयमा उहाँ समयको आयामभित्र जिइरहेका हामीसँग पनि हुनुहुन्छ। परमेश्वर पुत्र, येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, कि युगको अन्त्यसम्म उहाँ तिनीहरूसँग हुनुहुनेछ (मत्ती २८:२०)। पुनरुत्थान हुनुभएको ४० दिनपछि येशू स्वर्गमा जानुभयो र उहाँ स्वर्गलोकमा हुनुहुन्छ, तर उहाँ सर्वव्यापी परमेश्वर हुनुभएकोले गर्दा, विगतको २,००० वर्षदेखि हाम्रो प्रभु येशू हामी इसाईहरूसँगै हुनुहुन्छ, र त्यतिमात्र होइन, उहाँ त युगको अन्तसम्मै निरन्तर हामीसँग हुनुहुनेछ। उहाँ संसारको हरेक स्थानमा हुनुहुन्छ, र त्यसको साथै उहाँ परमेश्वरका चुनिएका सन्तानहरूसँग हिँड्नुहुन्छ, र उनीहरूले गर्नुपर्ने काम पूरा गराउनको लागि उहाँले तिनीहरूलाई डोर्याउनुहुन्छ (उत्पत्ति २८:१५; प्रस्थान ३:१२; ४:१२; प्रेरित १७:२७)।
इसाईहरूका माझमा थुप्रै यस्ता मानिसहरू छन्, जसले सर्वव्यापी येशूलाई चिन्दैनन् अथवा तिनीहरूले उहाँ सर्वव्यापी परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्दैनन्। दैनिक आफ्नो हृदयको गहिराइदेखि यस कुरालाई स्वीकार र मनन नगर्ने इसाईहरूले येशू सर्वव्यापी हुनुहुन्छ भन्ने सत्यतालाई सजिलै बिर्सन्छन्। तिनीहरूले येशूको डर-भय नराख्ने हुनाले सजिलै अनि स्वतन्त्रसाथ पाप गर्ने गर्छन्। तसर्थ, तिनीहरू अरूहरूप्रति र आफूप्रति इमान्दार हुँदैनन्, र जे आफूलाई मन लाग्छ अनि जे गलत र झूटा छ, त्यही तिनीहरूले गर्ने गर्छन्। त्यसो किन हुन्छ भने येशूले हरेक कुरा हेरिरहनुहुन्छ र सुनिरहनुहुन्छ भनी तिनीहरूले महसुस गर्दैनन्। तिनीहरूले येशूको उपस्थितिलाई साँचोरूपमा विश्वास नगर्ने भएकोले गर्दा तिनीहरू हरेक कुरामा चिन्ता-फिक्री गरी उदास अनि तनावमा हुने गर्छन्। यसबाहेक अर्को कुराचाहिँ तिनीहरू अदृश्य येशूप्रति समर्पित हुन सक्दैनन्, तर दृश्य र छुन सकिने मूर्तिहरूतिर फर्केर तिनीहरूलाई पुज्ने गर्छन्। त्यसरी तिनीहरूले पुज्ने थोकहरूमा रुपैयाँ-पैसा, शक्ति-अधिकार, आदर, महत्वाकांक्षा, आफ्नै महिमा, ख्याति, मान-प्रतिष्ठा, परिवार, छोराछोरी, असल स्वास्थ्यजस्ता सांसारिक कुराहरू पर्दछन्।
तर यस्ता कुराहरूको विपरीत परमेश्वर सर्वव्यापी हुनुहुन्छ भन्ने विशेषतालाई स्वीकार र मनन गर्ने इसाईहरूले आफ्नो जीवनमा येशूको डर-भय राखी उहाँको आदर र श्रद्धा गर्ने गर्छन्। तिनीहरूको हृदय शान्तिले भरिएको हुन्छ अनि तिनीहरूको जीवन ठिक बाटोमा हुन्छ किनभने येशूले सधैँ नियालिरहनुभएको हुन्छ र उहाँ आफूसँग नै हुनुहुन्छ भन्ने सत्य-तथ्य तिनीहरूले जान्दछन्। येशूसँगै रहेर हिँड्दा तिनीहरूले सान्त्वना र सुरक्षा प्राप्त गर्छन्। तिनीहरूको हृदयको गहिराइबाट परमेश्वरको आनन्द बहेर निस्किरहेको हुन्छ। अरूहरूसँगको सम्बन्धमा तिनीहरूका हृदयबाट स्वभाविकरूपमा दया र करुणा निस्कने गर्छ। स्वयम् येशूले तिनीहरूका हरेक थोकको वास्ता गर्नुहुन्छ भन्ने कुरामा तिनीहरूले भरोसा गर्दछन् र येशूसँगै हिँड्दै जिउने क्रममा अनन्त राज्यमा येशूले शासन गर्नुहुन्छ भन्ने तिनीहरूको आशा बढ्दै जानेछ। यो संसार अस्थायी हो र भविष्यमा कुनै दिन यस्तो समय आउनेछ, कि त्यसबेला तिनीहरूले यो संसार छोडेर अनन्त राज्यमा जानुपर्नेछ भनी तिनीहरूले स्पष्टसँग जान्दछन्। त्यसैकारणले गर्दा, तिनीहरूलाई जेजस्तो आइपरे तापनि, आफ्नो छिमेकीहरूलाई बिनासर्तको अगापे प्रेम गर्नसक्ने उत्प्रेरणा र बल तिनीहरूलाई प्रदान गरिएको छ (१ कोरिन्थी १३:१३)। यसप्रकार तिनीहरू सृष्टिकर्ता परमेश्वरबाट बिनासर्तको ईश्वरीय प्रेम प्राप्त गर्ने खुसी र आनन्दित इसाईहरू बन्दछन्।
यहाँसम्म आइपुग्दा हामीले परमेश्वरको पहिचानको सेवकाइसम्बन्धी चारवटा विशेषताहरूलाई चर्चा गर्यौँ, जुन यस प्रकारका छन्: परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, परमेश्वर सर्वज्ञानी हुनुहुन्छ, परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ र परमेश्वर सर्वव्यापी हुनुहुन्छ। अब हामीले परमेश्वरको चरित्रसम्बन्धी चार वटा विशेषताहरूलाई मनन गर्न खाँचो छ- परमेश्वरको प्रेम, परमेश्वरको दया, परमेश्वरको अनुग्रह र परमेश्वरको धार्मिकता।
Mr. Bijay Bajagain
Evangelist
यस तालिमले मण्डलीलाई आत्मिकरूपमा हुर्काउन मलाई धेरै ठूलो सहायता पुगेको छ।
Bishnulal Praja
Pastor
यो बाइबल अध्ययन मेरो प्रार्थनाको उत्तर हो।
Ramesh Century
Pastor, Living Faith Church
यो तालिमले सुसमाचार प्रचार गर्न र विश्वासीहरूलाई हुर्काउन धेरै सहायता मिलेको छ।
Shyam Shrestha
Translator
थोमस ह्वाङ्को पुस्तकहरू अनुवाद गर्दा मैले धेरै आत्मिक रहस्यहरू भेट्टाएँ।