AMI Nepal

News याकूबको पत्रको ऐतिहासिक पृष्ठभूमि

याकूबको पत्रको ऐतिहासिक पृष्ठभूमि

याकूबको पत्रको ऐतिहासिक पृष्ठभूमि

याकूबको पत्र राम्रोसँग बुझ्नको लागि त्यतिबेलाको ऐतिहासिक पृष्‍ठभूमिको जानकारी हासिल गर्नु अति आवश्यक छ। यस पाठमा हामी महत्वपूर्ण ऐतिहासिक तथ्यहरू हेर्नेछौँ; जस्तै: याकूबको समयमा मण्डलीको अवस्था कस्तो थियो? त्यतिबेला विश्‍वासीहरू र अगुवाहरूको सम्बन्ध कस्तो थियो? विश्‍वासीहरूको आत्मिक र आर्थिक अवस्था कस्तो थियो? किन याकूबले यो पत्र लेखेका हुन्? आदि। यस्ता प्रश्‍नहरूको उत्तर थाहा पाएपछि हामीले याकूबको पत्रलाई ठिक किसमले बुझ्‍न र व्याख्या गर्न सक्छौँ।

याकूबको पत्रको ऐतिहासिक पृष्‍ठभूमिलाई केलाउन येशूको जन्मबाट नै सुरु गरौँ। उहाँको जन्मबारे बाइबल विद्वानहरूले फरक-फरक मितिहरू प्रस्तुत गर्नुहुन्छ। महत्वपूर्ण ऐतिहासिक घटनाहरूलाई अवलोकन र अनुसन्धान गर्दा येशूको जन्म इ.पू. ४ मा भएको तथ्य प्रकट हुन आउँछ। येशूको जन्मअघिको समयलाई इसापूर्व (BC, Before Christ) भनिन्छ भने उहाँको जन्मपछिको समयलाई इश्‍वी संवत् (AD, Anno Domini) भनिन्छ।

धेरैले ‘किन येशू शुन्य सालमा जन्मनु भएन?’ भनेर प्रश्‍न गर्छन्। यसको उत्तरलाई खोज्दैजाँदा हामीले के जानकारी पाउँछौँ भने इ.सं.५ मा रोमी सरकारले नयाँ पात्रो निर्माण गर्दा केही त्रुटि हुनगयो जसको कारणले गर्दा येशूको जन्मलाई शुन्य सालमा राख्‍न सकिएन (पुरानो करारको यहूदी पात्रो र नयाँ करारको पात्रो फरक हुन्)। येशूको जन्म कसैले इ.पू.२, कसैले इ.पू.४ र कसैले इ.पू.६ मा भएको हो भनी भन्दछन्। प्रख्यात सुसमाचारवादी ईश्‍वरशास्‍त्री डा. थोमस ह्वाङ्गचाहिँ येशू इ.पू.४ मा जन्मनुभयो भनी विश्‍वास गर्नुहुन्छ। जेजस्तो भए तापनि उहाँको जन्मले संसारको इतिहासलाई दुई भागमा विभाजन गरिदिएको तथ्यमा दुई मत छैन।

इ.पू. ४ मा येशूको जन्म बेथलेहेममा भयो; त्यसको ९ वर्षपछि अर्थात् इ.सं.५ मा टार्सस भन्‍ने ठाउँमा पावलको जन्म भयो। इ.सं.२६ मा येशू ३० वर्षको जवान हुनुहुँदा बप्‍तिस्मा लिएर परमेश्‍वरको राज्यको सेवकाइ प्रारम्भ गर्नुभयो। पहिलो शताब्दीलाई अवलोकन गर्दा इ.सं.३० मा केही महत्वपूर्ण घटनाहरू घटेका थिए; जस्तै : येशूको क्रूसको बलिदान, उहाँको पुनरुत्थान, उहाँको  स्वर्गारोहण र यरूशलेम मण्डलीको स्थापना आदि। ती घटनाहरूको कारण इ.सं.३० ले इसाई इतिहासमा विशेष महत्व राख्छ। येशू स्वर्गारोहण हुनुभएपछि प्रेरितहरू र अन्य चेलाहरू मिलेर संसारको पहिलो मण्डली (यरूशलेम मण्डली)स्थापना गरे। त्यस मण्डलीका सदस्यहरूमध्ये धेरै जना प्रवासी यहूदीहरू (Diaspora Jews) थिए। तिनीहरू संसारका विभिन्‍न ठाउँहरूबाट इस्राएलमा चाड मनाउन आएका थिए। त्यस मण्डलीको सदस्यहरूको सङ्ख्याको बारेमा यस्तो तथ्याङ्क निकाल्न सकिन्छ : माथिल्लो तल्लामा पारा-क्लेटोस (पवित्र आत्मा) पाउनेहरू १२० जना (प्रेरित १:१५); पावलले १ कोरिन्थीको पत्रमा उल्लेख गरेको करिब ६०० जना (१ कोरिन्थी १५:६); पत्रुसको पहिलो प्रचारपछि बप्‍तिसमा लिनेहरू ३,००० जना (प्रेरित २:४१); र पत्रुसको दोस्रो प्रचारद्वारा विश्‍वास गर्नेहरू ५,००० जना (प्रेरित ४:४)।

बाइबलमा उल्लिखित यी सङ्ख्याहरू पुरूषहरूको मात्र थियो। तिनीहरूको परिवारमा भएकी पत्‍नीलगायत छोराछोरीहरूलाई पनि हामीले विचार गर्नुपर्छ। यसरी हेर्ने हो भने हरेक परिवारमा कम्तीमा तीन-चार जना व्यक्तिहरू अवश्य हुनुपर्छ। त्यसैले यरूशलेम मण्डलीमा सदस्यहरूको सङख्या २०,००० भन्दा बढी नै थिए होलान् भनी ईश्‍वरशास्‍त्रीहरू अनुमान लगाउनुहुन्छ। त्यति धेरै सदस्यहरू भएको मण्डलीलाई हामी विशाल मण्डली भन्‍न सक्छौँ। उक्त मण्डलीका विश्‍वासीहरू प्रार्थना, धर्मशास्‍त्र अध्ययन र परमेश्‍वरको स्तुति-आराधनामा लागिरहन्थे। तिनीहरू परमेश्‍वरले दिनुभएको आशिषमा रमाउँदै मण्डलीभित्र सीमित रहे तर प्रभु येशूको महान् आज्ञाअनुसार नयाँ ठाउँमा गई सुसमाचार प्रचार र मण्डली स्थापना गरेनन्। परमेश्‍वरले गर्नुभएको आश्‍चर्यकर्महरूद्वारा मण्डली अचम्म प्रकारले वृद्धि हुँदै गएको देखेर अगुवाहरू दङ्ग थिए।  तर दु:खलाग्दो कुरा के थियो भने तिनीहरूले प्रेरित १:८ मा प्रभु येशूले भन्‍नुभएको महान् आज्ञालाई वास्ता गरेनन्। प्रभुले भन्‍नुभएअनुसार तिनीहरू यरूशलेमबाट निस्केर यहूदिया, सामरिया हुँदै संसारको अन्तिम छेउसम्म सुसमाचार प्रचारको अभियानमा जुट्नुपर्थ्यो। एउटै मण्डलीमा केन्द्रित हुनुभन्दा विभिन्‍न ठाँउहरूमा गएर मण्डली स्थापना गर्नुपर्थ्यो। तर उक्त मण्डलीले प्रभु येशूको महान् आज्ञा पालन गर्न सकेन किनभने त्यहाँको अगुवाहरूमा मिसनको हृदय थिएन।

येशू टाँगिनुभएको क्रूसको ठाडो र तेर्सो काठले मण्डली दुवैतिर वृद्धि हुनुपर्ने सिद्धान्तलाई देखाउँछ। मण्डली ठाडो रूपमा (Vertically) बढ्नु भनेको सङ्ख्यामा बढ्नु हो भने तेर्सो रूपमा (Horizontally) बढ्नु भनेको चाहिँ मिसनको काममा बढ्नु हो। हरेक मण्डलीले यो सिद्धान्तलाई अनुसरण गर्नुपर्छ।

यो सिद्धान्तअनुसार यरूशलेम मण्डलीको अगुवाहरूले प्रवासी यहूदीहरूलाई अगुवापनमा सुसज्जित पारी विभिन्‍न ठाउँहरूमा पठाएर प्रभुको महान् आज्ञाअनुसार नयाँ ठाउँहरूमा मण्डलीहरू स्थापना गर्नुपर्थ्यो। तर तिनीहरूले त्यसो गर्न सकेनन्। मण्डली वृद्धिमा रमाएका अगुवाहरूले सुसमाचारको खातिर आफ्ना सदस्यहरूलाई कतै पठाएनन्। मण्डली स्थापना भएको तीन वर्ष बितेर जाँदा पनि तिनीहरूको चेत खुलेन। महान् आज्ञालाई बिर्सेको कारणले गर्दा परमेश्‍वर खुसी हुनुभएन। फलस्वरूप इ.सं.३३ मा परमेश्‍वरले उक्त मण्डलीमा ठूलो सतावट आउन दिनुभयो। उक्त सतावटमा परमेश्‍वरले शाऊललाई प्रयोग गर्नुभयो र सुसमाचार प्रचारको खातिर यरूशलेम मण्डलीको डिकन स्तिफनस सहिद भए (प्रेरित ६:८-७:६० हेर्नुहोस्)।

त्यसपछि शाऊलले विश्‍वासीहरूलाई तीव्र सतावट दिन थाले (प्रेरित ८:१-३)। उक्त सतावटको काराण यरूशलेम मण्डलीको हजारौँ सदस्यहरू तितर-वितर हुन थाले। तिनीहरू त्यहाँबाट निस्केर संसारका विभिन्‍न भागहरूमा छरपस्ट भए। तिनीहरूको जीवनमा परमेश्‍वर उदेकको योजना थियो। विभिन्‍न ठाउँमा छरपस्ट भएका ती विश्‍वासीहरूले आफू पुगेको ठाउँमा जम्मा भएर सङ्गति, परमेश्‍वरको आराधना, र सुसमाचार प्रचार गर्न थाले। अनि नयाँ ठाउँका मानिसहरूले प्रभु येशूमा विश्‍वास गर्न थाले। यसरी बिस्तारै मत्ती २८:१९-२० मा उल्लिखित प्रभु येशूको महान् आज्ञा पूरा हुँदै जानथाल्यो।

ती घटनाहरूलाई आत्मिकरूपमा केलाउँदै जाने हो भने स्तिफनसको रगत बग्‍नु, यरूशलेम मण्डलीमा  सतावट आउनु, र त्यहाँका विश्‍वासीहरू संसारको विभिन्‍न स्थानहरूमा छरपस्ट हुनु- यी सबै परमेश्‍वरको योजना थियो। सतावट आउनुअघि नै यरूशलेम मण्डलीले येशूको महान् आज्ञाप्रति गम्भीर भएर मिसनको काम गरेको भए त्यस्तो सतावट आउँदैनथियो कि? आजभोलि मेरो मण्डली ठूलो छ भनेर घमण्ड गर्नेहरूले यसमा विशेष ध्यान पुर्‍याउनु असल हुनेछ। परमेश्‍वरले आफ्नो राज्य विस्तारको निम्ति जस्तोसुकै परिस्थिति आउन दिन सक्‍नुहुन्छ भन्‍ने कुरालाई हामीले कहिल्यै बिर्सनुहुँदैन।

सतावटको कारण विश्‍वासीहरू छरपस्ट भएकोले यरूशलेम मण्डलीको सदस्यहरूको सङ्ख्या स्वात्तै घट्यो। सदस्यहरू छरपस्ट भएएकोले त्यहाँ अगुवाहरू मात्र बाँकी भए। हजारौँ सदस्यहरू भएको मण्डली रातारात सदस्यविहिन मण्डली बन्‍न पुग्यो। त्यहाँबाट भागेर गएका केही विश्‍वासीहरूले दमस्कसमा पुगेर सुसमाचार प्रचार गर्नथाले। तिनीहरूको गतिविधि दमस्कसको यहूदीहरूलाई मन परेन। तिनीहरूले इसाईहरूलाई घृणा गर्न थाले। त्यति मात्र होइन तिनीहरूले यरूशलेममा भएका अगुवा र धर्मगुरूहरूलाई सो कुरा अवगत गराए र इसाईहरूको अभियान रोक्‍न अनुरोध पनि गरे। शाऊलले त्यस कुराप्रति चासो देखाएर प्रधान पूजाहारीहले सही गरेको आधिकारिक पक्राउ पुर्जी लिएर इसाईहरूलाई पक्रन घोडा चढेर दमस्कसतिर गए। उनी येरूशलेममा जस्तै दमस्कसमा पनि इसाईहरूलाई सताउन चाहान्थे तर उनी दमस्कसको नजिक पुगेपछि चम्किलो ज्योतिद्वारा येशूले चम्किलो ज्योतिद्वारा उनलाई दर्शन दिनुभयो। येशूले भन्‍नुभयो, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” (प्रेरित ९:४)।

यसरी दमस्कसको बाटोमा पावलले येशूको दर्शन पाएपछि तिनको जीवन पूर्णरूपमा परिवर्तन भयो। ख्रीष्ट र ख्रीष्टियानहरूको विरोध गर्ने व्यक्तिले त्यसपछि ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी प्रचार गर्न थाले।

उक्त घटना इ.सं.३५ को हो, र त्यतिबेला तिनी ३० वर्षका थिए। यहाँ स्मरणयोग्य कुरा के छ भने येशू ख्रीष्टले ३० वर्षको उमेरमा सेवकाइ सुरु गर्नुभयो; र पावलले चाहिँ ३० वर्षको उमेरमा येशू ख्रीष्टलाई विश्‍वास गरे। येशू ख्रीष्ट ३३ वर्षको उमेरमा स्वर्गारोहण हुनुभयो भने पावलले चाहिँ ३३ वर्षसम्म येशू ख्रीष्टको सुसमाचार प्रचार गरिरहे (इ.सं.३५ देखि इ.सं.६८ सम्म)।

चित्र नं. १ : यरूशलेम, तार्सस, दमस्कस, गलातिया, अरेबिया क्षेत्रहरू

जीवन परिवर्तनपछि पावलले दमस्कसमा ‘येशू परमेश्‍वरको पुत्र हुनुहुन्छ’ भनी प्रचार गर्दा यहूदीहरूले उनलाई मार्न खोजेकोले प्रेरितहरूलाई भेट्न पावल यरूशलेम गए। तर परिस्थिति अपेक्षा गरेअनुसार नभएकोले तिनी यरूशलेममा धेरै दिन बसेनन्। जे भए तापनि यरूशलेममा हुँदा तिनले याकूबलाई चाहिँ भेटेका थिए।

“जब अन्‍यजातिहरूका बीचमा उहाँको प्रचार गर्नलाई आफ्‍ना पुत्र ममा प्रकट गराउन उहाँलाई खुशी लाग्‍यो, तब मैले कुनै मानिससँग केही सल्‍लाह लिइनँ, न त मभन्‍दा अघि प्रेरित हुनेहरूकहाँ म यरूशलेममा गएँ, तर तुरुन्‍तै अरब देशमा गएँ, र पछि दमस्‍कसमा फर्केर आएँ। तब तीन वर्षपछि केफाससँग भेट गर्न म यरूशलेम गएँ, र उनीसँग पन्‍ध्र दिनसम्‍म बसेँ। तर प्रभुका भाइ याकूबलाई बाहेक अरू कुनै प्रेरितलाई मैले भेटिनँ” (गलाती १: १६-२०)।

त्यसपछि पावलले अरब देशमा गएर तीन वर्ष बिताए। बाइबल विद्वानहरूका विचारअनुसार पावल त्यतिबेला सिनै पर्वतमा गएका हुन सक्छन् जहाँ मोशाले परमेश्‍वरबाट दश आज्ञा पाएका थिए। उनी त्यतिबेला निकै अप्ठ्यारो र जोखिममा थिए किनभने विश्‍वासी भएको कारणले गर्दा यहूदीहरूले उनलाई मार्न चाहन्थे अनि इसाईहरूले चाहिँ उनलाई अझै भरोसा गर्न सकेका थिएनन्। त्यसैले पावलले अरब देशमा गएर तीन वर्ष प्रार्थना र धर्मशास्‍त्र अध्ययनमा समय बिताए। अरब देशबाट फर्केर उनी दमस्कस हुँदै येरूशलेममा गई त्यहाँ १५ दिनसम्म बसे। सायद तिनले त्यतिबेला यरूशलेममा नै बसेर सेवकाइ गर्न चाहेका हुनसक्छ तर परिस्थिति अनुकुल नभएकोले उनी आफ्नो घर भएको ठाउँ टार्ससमा गए। पावलले टार्ससमा सात वर्ष बिताए। त्यातिबेला तिनले प्रभुलाई विश्‍वास गरेको १० वर्ष बितिसकेको थियो तैपनि सेवकाइको लागि उपयुक्त अवसर पाएका थिएनन्। लामो समय प्रार्थनामा बिताएपछि बारनाबासको सहायताद्वारा इ.सं.४५ मा पावलले एन्टियोक मण्डलीमा सहायक अगुवा भएर सेवकाइ गर्ने मौका पाए। त्यतिबेला उनी ४० वर्षको परिपक्‍व मानिस भइसकेका थिए। परमेश्‍वरले आफ्नो जनलाई सेवकाइको निम्ति तयार पार्न परिपक्‍व अवस्थामा पुर्‍याउनुहुन्छ। पुरानो करारमा हेर्ने हो भने मोसालाई सेवकाइमा उतार्न परमेश्‍वरले ४० वर्ष मिश्रदेशको दरवारमा अनि ४० वर्ष मिद्यानमा राख्‍नुभएर ८० वर्षको परिपक्‍व मानिस बनाउनुभयो।

पावलको जीवनको घटनाहरू चाखलाग्दा छन्। उनी इ.सं.५ मा जन्मे, इ.सं.३५ मा परिवर्तन भए र इ.सं.६८ मा मरे। ६८ बाट ३५ घटाउँदा ३३ हुन आउँछ। यसरी हिसाब गर्दा पावलले ३३ वर्षसम्म सेवकाइ गरेका थिए। प्रभु येशू ३३ वर्ष यस संसारमा रहनुभयो; पावलचाहिँ ३३ वर्ष येशूको सेवा गरेर ६३ वर्षको उमेरमा उहाँकै खातिर सहिद भए। यसलाई अर्को शब्दमा भन्‍नुपर्दा, येशू ३३ वर्षको उमेरमा क्रूसमा टाँगिएर मर्नुभयो भने पावलचाहिँ ३३ वर्ष सेवकाइ गरेपछि उहाँको खातिर रोमीहरूद्वारा मारिए। उनलाई रोममा घाटी रेटेर मारिएको थियो। यसै सन्दर्भमा अर्को महत्वपूर्ण घटना के छ भने इ.सं.३३ मा यरूशलेम मण्डलीमा सतावट आयो र इसाई जगतको पहिलो सहिद स्तिफनसको मृत्यु पनि इ.सं.३३ को नै हो। के यो कुरा चाखलाग्दो छैन? यहाँ सङ्ख्या ३३ ले विभिन्‍न घटनाहरूमा स्थान पाउनु संयोग मात्र नभएर परमेश्‍वरको योजना हो किनभने धर्मशास्‍त्र बाइबलमा सङ्ख्याहरूले ठूलो भूमिका निभाएको हामी जान्दछौँ; जस्तै: १, ३, ४, ७, १०, ४० आदि।

सतावटको कारण यरूशलेम मण्डलीबाट छरपस्ट भएका केही विश्‍वासीहरू दमस्कस हुँदै एन्टियोक भन्‍ने ठाउँमा पुगे। उक्त समूहलाई त्यहाँ डोर्‍याएर लैजाने कुरेनीका सिमोन थिए। कुरेनी (Cyrene) भन्‍ने ठाउँलाई अहिले लिबिया (Libya) भनिन्छ। पुरानो करारको समयमा त्यस ठाउँलाई पुत (Put) भनिन्थ्यो। लूकाले उनलाई ‘काला भनिने शिमियोन’ भन्‍ने नाउँ दिए किनभने उनी अफ्रिकाबाट आएका मानिस थिए जहाँ नोआको छोरा हामका सन्तानहरू बसोवास गर्दथे (उत्पत्ति १०:६)। ‘शिमियोन’ र ‘सिमोन’ एउटै मानिस हुन्। कुरेनीको सिमोन यहूदी धर्म मान्‍ने मानिस थिए। उनी निस्तार चाड मनाउन यरूशलेम आएका थिए। त्यतिबेला रोमी सिपाहीहरूले येशूलाई क्रूस बोकाएर गलगथातिर लैजाँदैगरेको दृश्य उनले नजिकैबाट हेरिरहेका थिए। शुक्रवार बिहान त्यहाँ ठूलो भीड जम्मा भएको थियो। बिहीवार राति येशूले सुत्‍न पनि पाउनुभएन। उहाँलाई प्रधान पूजाहारी कैयाफा र रोमी हाकिम पिलातसकहाँ लगेर केरकार गरिएको थियो। कोर्राको चुटाइले उहाँ निकै थकित र कमजोर हुनुभएको थियो। उहाँले त्यतिबेला शारीरिक र मानसिकरूपमा भयङ्कर यातना भोग्‍नुभयो। क्रूस बोकेर हिँड्दैगर्दा उहाँ लड्नुभयो। अनि रोमी सिपाहीहरूले कुरेनीबाट आएका सिमोनलाई पक्रेर येशूको क्रूस बोक्‍न लगाए। उनले त्यो क्रूस बोकेर गलगथासम्म पुर्‍याए। येशूका चेलाहरू कोही पनि उहाँलाई सहायता गर्न आएनन् तर कुरेनीको सिमोनले उहाँलाई सहायता गरे। कठिन परिस्थितिमा येशूको साथ दिएकोले उनले धेरै आशिष् पाए। उनी टाढाबाट आएको भए तापनि परमेश्‍वरले उहाँको राज्यको निम्ति उनलाई अचम्मले प्रयोग गर्नुभयो।

पछि गएर सिमोनले धेरै मानिसहरूलाई येशूको मृत्यु र पुनरुत्थानको गवाही दिए। उनले १२ चेलाहरूलाई पनि भेटे। यरूशलेममा मरियमको घरको माथिल्लो तल्लामा भेला भएर प्रार्थना गर्ने १२० जना व्यक्तिहरूमध्ये उनी पनि एक थिए। प्रेरितहरूसँग मिलेर यरूशलेम मण्डलीमा उनले महत्वपूर्ण भूमिका निभाए। त्यहाँ सतावट आएपछि परमेश्‍वरले उनलाई एन्टियोकमा लानुभयो र उनीद्वारा नै त्यहाँ मण्डली स्थापना भयो। सिमोनले उक्त मण्डलीमा करिब १० वर्ष सेवकाइ गरेपछि बारनाबास त्यहाँ पुगे। पावललाई बोलाउन बारनाबासलाई टार्ससमा पठाउने व्यक्ति कुरेनीको सिमोन नै हुन्। पावल एन्टियोकमा आएर करिब एक वर्षसम्म सिमोनको नेतृत्वमा सेवकाइ गरे। त्यतिबेला एन्टियोक मण्डलीमा सेवकाइ गर्ने पाँच जना अगुवाहरूको नाम प्रेरित १३:१ मा लेखिएको छ।

पावलले सिमोनकै निर्देशनमा एन्टियोकबाट मिसन यात्राहरू सुरु गरे। पावलले गरेका मिसन यात्राहरूमा सिमोनकी पत्‍नी र छोरा रूफसले ठूलो सहायता गरे। सिमोनकी पत्‍नीले ठूलो गुण लगाएकी हुनाले पावलले तिनलाई ‘मेरी आमा’ भनेर सम्बोधन गरेका छन् (मर्कूस १५:२१ र रोमी १६:१३ हेर्नुहोस्)। बाइबलले सिमोनकी पत्‍नीको नाउँ उल्लेख नगरे तापनि पावलले रोमीको पत्रमा तिनलाई ‘आमा’ भनेर आदर गरेका छन्। रोमीको पत्र लेख्दा पावल कोरिन्थी सहरमा थिए। पत्रको अन्तमा आफ्ना चेला र सहयोगीहरूलाई अभिवादन गर्ने क्रममा पावलले रूफस र तिनकी आमालाई स्मरण गरेका छन। यहाँ हामीले थाहा पाउनुपर्ने कुरा के छ भने त्यो समयसम्म पावल रोममा पुगेका थिएनन्। उनी त्यहाँ जानुभन्दा पहिले नै रूफस र तिनकी आमा त्यहाँ गएर सेवकाइ गर्दैथिए। सिमोन र उनको परिवारका सदस्यहरू निकै आशिषित व्यक्तिहरू हुन् किनभने पूरा घरनाले नै परमेश्‍वरको सेवा गर्ने अवसर पाएको थियो। उनीहरूको सेवकाइ, समर्पणता र योगदानको कारण धेरैले आशिष् पाए।

येरूशलेम मण्डलीबाट निस्केका विश्‍वासीहरू दमस्कस र एन्टियोक मात्र होइन, अरू ठाउँहरूमा पनि पुगे; जस्तै: गलातिया, पोन्टस, कापाडोसिया आदि। मण्डलीका सदस्यहरू विभिन्‍न स्थानहरूमा छरपस्ट भएपछि याकूब र पत्रुसले ती ठाउँहरूमा गएर आफ्ना सदस्यहरूसँग भेटघाट गर्नथाले। त्यसबेलाको यात्रा अहिलेको जस्तो सजिलो थिएन। त्यतिबेला अहिलेको जस्तो हवाइजहाज, बस र रेलजस्ता यातायातको साधनहरू उपलब्ध थिएन। उनीहरूको यात्राको लागि पानीजहाज, घोडा र पैदलयात्रा बाहेक अरू विकल्प थिएन।

प्रवासी यहूदीहरूले स्थापना गरेका नयाँ मण्डलीहरूमा विभिन्‍न प्रकारका समस्याहरू थिए; जस्तै: बेरोजगारी, गरिबी, सतावट, झैँझगडा, फुट आदि। नयाँ ठाउँमा तिनीहरूको जीवनशैली सहज थिएन। परदेशमा परिवार पाल्न पुरुषहरूले कडा परिश्रम गर्नुपर्थ्यो। परिवाको मुख्य पुरुष मरेपछि मण्डलीमा विधवा र टुहुरा-दटुहुरीहरूको सङ्ख्या दिनप्रतिदिन बढ्दैथियो। मण्डलीका अधिकांश सदस्यहरू गरिबीको रेखामुनि भएता पनि केही सदस्यहरूसँग भने प्रसस्त धनसम्पत्ति थियो तर तिनीहरूले गरिब, विधवा र टुहुरा-टुहुरीहरूका लागि आफ्नो धनसम्पत्ति प्रयोग गर्दैनथे बरु त्यसलाई आफ्नै स्वार्थ र विलासिताको लागि प्रयोग गर्दथे। ती मण्डलीहरूमा आर्थिक समस्या मात्र होइन ईश्‍वरशास्‍त्रीय मतभेद र विवादहरू पनि थिए।

तसर्थ, परमेश्‍वरको राज्य विस्तारको निम्ति मण्डलीमा विद्यमान ती समस्याहरू समाधान गर्नु अति आवश्यक थियो। याकूब वरिष्‍ठ अगुवा भएको हैसियतले गर्दा ती मण्डलीहरूमा गएर समस्याहरू समाधान गर्नु उनको कर्तव्य थियो साथै ती नयाँ मण्डलीका अगुवा र सदस्यहरूलाई उत्साह र शिक्षा दिनु उनको जिम्मेवारी पनि थियो। तर तत्कालीन भौगोलिक अवस्था, यातायातको असुविधा र समयको अभावले गर्दा उनले सबै ठाउँहरूमा भ्रमण गरेर समस्याहरू समाधान गर्न सकेनन्। मण्डलीको सदस्यहरू निस्केको करिब १५ वर्षपछि अर्थात् इ.सं.४८ मा याकूबले चारैतिर छरपस्ट भएका सबै कुलका यहूदी विशवासीहरूलाई आधिकारिक रूपमा पत्र पठाएर समस्याहरू समाधान गर्ने र उत्साह दिने निर्णय गरे (इ.सं.३३ मा तिनीहरू छरपस्ट भएका थिए)। उनले सबैको लागि सुहाउँदो पत्र लेखे। उनले पत्र यसरी सुरु गर्दछन् : “परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको सेवक याकूबबाट : ठाउँ-ठाउँमा छरपस्ट भएका बाह्र कुललाई, अभिवादन” (याकूब १:१)।

याकूब १:१ ले पत्रको प्रेषक र प्रापकको बारेमा स्पष्‍ट बताएको छ। याकूबले आफ्नो परिचय दिँदा ‘म प्रभु येशूको भाइ हुँ’ भनेर लेखेका छैनन् तर ‘येशूको सेवक (दास)हुँ’ भनी घोषणा गरेका छन्। यस पदलाई राम्रोसँग बुझ्नको लागि बाइबलमा उल्लिखित दासप्रथाबारे जान्‍नुपर्छ। त्यसक निम्ति हामी व्यवस्था १५:१२-१७ हेरौँ।

“यदि तिमीहरूको कोही यहूदी भाइ-बहिनी तिमीहरूको हातमा आफैलाई बेच्‍छ, त्‍यसले छ वर्ष तिमीहरूको सेवा गर्यो भने, सातौँ वर्ष त्‍यसलाई मुक्त भएर जान दिनू। त्‍यो मुक्त भएर जाँदा त्‍यसलाई रित्तै हात नपठाउनू, तर परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ दिनुभएअनुसार आफ्‍ना भेड़ाबाख्रा, खला र दाखको कोलबाट प्रशस्‍तसँग दिएर त्‍यसलाई पठाउनू। मिश्रमा तिमीहरू कमारा हुँदा परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई मुक्त गर्नुभएको कुराको सम्‍झना गर। त्‍यही कारणले आज म तिमीहरूलाई यी आदेश दिँदैछु। तर तिमीहरूको कमाराले तिम्रो र तिम्रो परिवारलाई माया गरी तिमीहरूसँग खुशी भएर तिमीलाई “तपाईंकहाँबाट म जान चाहन्‍नँ” भन्‍यो भने, एउटा सुतारो लिएर त्‍यसको कानको लोती ढोकामा लगाएर छेड्‌नू, र त्‍यो जीवनभरि तिमीहरूको कमारा हुनेछ। आफ्‍नी कमारीलाई पनि त्‍यसै गर्नू” (व्यवस्था १५:१२-१७)।

पुरानो करारको समयमा दुई प्रकारका दास हुने गर्दथे। पहिलो प्रकारको दासले आफूलाई बेचेर मालिकको घरमा छ वर्ष सेवा गरेपछि सातौँ वर्ष स्वतन्त्र हुनसक्थ्यो अर्थात् ऊ मालिकको घरबाट निस्केर आफूले चाहेको जीवन जिउन सक्थ्यो। तर दोस्रो प्रकारको दासचाहिँ मालिकको घरबाट निस्केर स्वतन्त्र हुन चाहँदैनथ्यो। उसले मालिकलाई यसो भन्थ्यो: “म तपाई र तपाईंको परिवारलाई प्रेम गर्दछु। त्यसैले म तपाईंलाई छोडेर जान्‍नँ बरु यहीँ बसेर जीवनभरि नै तपाईंको सेवा गर्नेछु।”

मालिकले दासलाई जबरजस्ती अथवा वाध्य तुल्याएर घरमा राख्‍ने होइन तर स्वयम् दासले मालिकलाई प्रेम गर्ने भएकोले उसले जीवनभरि मालिकको सेवा गर्ने गर्दथ्यो। त्यसरी सेवा गर्न वाध्य तुल्याउने तत्वचाहिँ ‘प्रेम’ हो। त्यसरी जीवनभरि आफ्नो मालिकको सेवा गर्ने दासलाई ‘कान छेडेको दास’ भनिन्छ। याकूबले पत्रद्वारा आफूलाई कान छेडेको दासको रूपमा परिचय दिन खोजेका छन्। परमेस्‍वरलाई प्रेम गर्ने अनि उहाँको सेवा र आराधना गर्ने नम्र व्यक्तिले उहाँलाई आफ्नो मालिक तुल्याएका हुन्छ। हामी कुनकुरालाई बढी प्रेम गर्दछौँ? र कुन कुरालाई बढी प्राथमिकता दिन्छौँ? आउनुहोस्, हामी पनि याकूबको जस्तै हृदय लिएर जीवनभरि परमेश्‍वरको सेवा गरौँ। उहाँमा सङ्का नगरौँ, किनभने उहाँ विश्‍वासयोग्य परमेश्‍वर हुनुहुन्छ। याकूबको पत्र अध्ययन गर्दैजाँदा हामीले आफ्नो विश्‍वासलाई बढाउँदै त्यहीअनुसार फल फलाउनेछौँ।

User Reviews