AMI Nepal

News अनुग्रही परमेश्‍वर

अनुग्रही परमेश्‍वर

अनुग्रही परमेश्‍वर
अनुग्रही परमेश्‍वर
BY AMI Nepal
26 May 2023

परमेश्‍वरको प्रेम र दयालाई बुझेका इसाईहरूले अनुग्रही परमेश्‍वरको आराधना नगरी बस्‍नै सक्दैनन् (१ पत्रुस ५:१०)। परमेश्‍वर अनुग्रही र दयालु हुनुहुन्छ अनि उहाँ रिसाउनमा ढिलो र प्रेम तथा विश्‍वासयोग्यतामा उहाँ प्रशस्त हुनुहुन्छ (२ इतिहास ३०:९; नहेम्याह ९:१७,३१; भजन ८६:१५; १०३:८; योएल २:१३)। आफ्नो सबै कामहरूमा परमेश्‍वर अनुग्रही हुनुहुन्छ (भजन १४५:१७)। नम्रहरूलाई उहाँले अनुग्रह गर्नुहुन्छ (हितोपदेश ३:३४; याकूब ४:६)। अनुग्रह (अथवा कृपा) भनेको परमेश्‍वरबाट आउने सित्तैको उपहार हो। परमेश्‍वरको अनुग्रह उहाँको कृपा पाउन अयोग्य पापीहरूको निम्ति बिनासर्त एकतर्फीरूपमा प्रदान गरिने उपहार हो।

परमेश्‍वरको अनुग्रह दुई किसिमका छन्। पहिलो सामान्य अनुग्रह हो। घाम, जून, पानी, हावाजस्ता वस्तुहरू यो अनुग्रहको उदाहरणहरू हुन्। परमेश्‍वरका जनहरूले यी कुराहरूबाट लाभ उठाउँछन् र त्यसको साथै संसारको अरू मानिसहरू अनि प्रकृतिमा भएका सबै जीव-जन्तु, प्राणी र वनस्पतिहरूले ती कुराहरू सित्तैमा प्राप्‍त गर्छन् (मत्ती ५:४५; प्रेरित १७:२५)। मानिसलगायत अन्य जीव-जन्तु र वनस्पतिहरूको जीवनमा ती कुराहरू अति आवश्यक छन्। ती कुराहरू यति बहुमूल्य छन् कि कसैले पनि त्यसको मूल्य चुकाउन सक्दैन र त्यसलाई अरू थोकले प्रतिस्थापित पनि गर्न सकिँदैन। त्यसकारण, परमेश्‍वरले ती कुराहरू हरेकको लागि बिनामूल्य उपलब्ध गराइदिनुभएको छ।

दोस्रोचाहिँ विशेष अनुग्रह हो। यो अनुग्रह अरू केही नभएर मुक्तिको निम्ति येशूको सुसमाचार हो (प्रेरित २०:२४; रोमी ५:१५; १ कोरिन्थी २:१२; तीतस २:११)। परमेश्‍वरको पुत्र, येशू स्वयम् संसार आउनुभएर आफ्नो रगत बगाउनुभयो तर त्यसको निम्ति उहाँले कुनै मूल्यको माग गर्नुहुन्‍न (रोमी ३:२४)। जबसम्म हामीले यस सत्यतालाई नम्रता र धन्यवादसाथ विश्‍वास गर्दछौँ, सुरुको पापको कारण आत्मिकरूपमा र अनन्तरूपमा मरेकाहरूलाई परमेश्‍वरले सित्तैमा अनन्त जीवन र स्वर्गको राज्यको नागरिकता उपहारस्वरूप प्रदान गर्नुहुन्छ (प्रेरित १५:११; रोमी ४:१६; गलाती १:६; एफिसी १:७; २:५-८)। हामीले यो कुरा जान्‍नैपर्छ, कि मुक्ति पूर्णरूपमा परमेश्‍वरको अनुग्रहबाट दिइन्छ, तर यो मानिसको प्रयास र कामहरूद्वारा होइन (गलाती २:२१; ५:४; तीतस ३:७)। यस्तो अनुग्रह हामीलाई दिनको निम्ति परमेश्‍वर पुत्रले दु:ख-कष्ट भोग्‍नुभएर पापीहरूप्रति धिरजता देखाउनुभएको छ (प्रस्थान ३४:६; नहेम्याह ९:१७,३१; रोमी २:४; १ पत्रुस ३:२०; २ पत्रुस ३:९)।

अनुग्रहको यो सुसमाचार अरू जाति र राष्ट्रहरूमा बाँड्ने काम सुम्पनको लागि परमेश्‍वरले थोरै मानिसहरूलाई चुन्‍नुभएको छ, जसले पहिले नै यो विशेष अनुग्रह प्राप्‍त गरिसकेका छन्। त्यसैले पावलले अन्यजातिहरूका माझमा सुसमाचार फैलाए। अन्यजातिहरूलाई सुसमाचार प्रचार गर्न र परमेश्‍वरको मुक्तिको महान् योजना प्रकट गर्न परमेश्‍वरका सबै मानिसहरूभन्दा आफू सानो हुँ भनी स्वीकार गरेका छन् (रोमी १५:१६: १ कोरिन्थी १५:१०; २ कोरिन्थी १२:९; गलाती १:१५; एफिसी ३:२,७-९)। यो सन्देशको अर्थ के हो भने येशूको अनुग्रहबिना कसैले पनि अन्यजातिहरूका माझमा सुसमचार फैलाउने काम गर्न सक्दैन।

पावल र सुरुको मण्डलीका अरू प्रेरितहरूका निम्ति ‘अनुग्रह’ अति महत्वपूर्ण विषय थियो। विशेषगरी पावलले आफ्ना सबै पत्रहरूमा परमेश्‍वरको अनुग्रहलाई जोड दिए। उदाहरणको रूपमा हेर्ने हो भने, तिनले आफ्ना पत्रहरू ‘प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई होस्’ भनेर सुरु गरेका छन् (एफिसी १:२; कलस्सी १:२; १ तिमोथी १:२); र त्यसैगरी पत्र अन्त गर्दा ‘प्रभु येशूको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्’ भनी आशिर्वाद दिएका छन् (२ कोरिन्थी १३:१४; गलाती ६:१८; फिलिप्पी ४:२३: फिलेमोन १:२५)।

पावलले मात्र होइन, पत्रुस र यूहन्‍नाले पनि त्यसै गरेका छन् (१ पत्रुस १:२; २ पत्रुस ३:१८; प्रकाश २२:२१)। “परमेश्‍वर पिता र पिताका पुत्र येशू ख्रीष्‍टबाट अनुग्रह, कृपा र शान्‍ति हामीसँग सत्‍यता र प्रेममा रहनेछ” (२ यूहन्‍ना १:३)। तिनीहरूले परमेश्‍वरको अनुग्रहलाई त्यति जोड दिनुको कारण के हो भने हाम्रो हृदयमा परमेश्‍वरको अनुग्रह प्रशस्त हुँदा हामीले परमेश्‍वरको शान्तिले भरिएको आशिषित जीवन जिउन सक्षम हुन्छौँ।

यदि हामीमा दुष्टको चरित्र (तीतोपनको जराहरू) छ भने हामीले परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन सक्दैनौँ (हिब्रू १२:१५)। तीतोपनका जराहरू हटाएर हामी येशूको चरित्रको हकदार हुनुपर्छ, जसको मतलब हामीमा पवित्र आत्माका नौ वटा फलहरू हुनुपर्छ (गलाती ५:२२-२३)। यसो गर्दछौँ भने हाम्रो हृदय र व्यक्तित्व परिवर्तन हुनेछ र हामीले परमेश्‍वरको अनुग्रह अनुभव गर्नेछौँ साथै हामीबाट शान्ति र आनन्द बगेर बाहिर निस्कनेछ (रोमी ५:२)।

हामीले आफ्नो हृदयको गहिराइमा येशूको अनुग्रह खोज्दछौँ भने येशू हामीद्वारा महिमित हुनुहुन्छ (२ कोरिन्थी ४:१५; एफिसी १:६; २ थेसलोनिके १:१२)। त्यही कारणले गर्दा, दाऊदले सधैँ आफ्नो कमजोरी र सीमितपनालाई स्वीकार गरी यहोवा परमेश्‍वरको (येशूको) अनुग्रह खोजी गरे (भजन ६:२; ९:१३; २५:१६; ३१:९; ४१:४), र उहाँको उक्त महान् अनुग्रहको प्रशंसा गरे (भजन ३१:१९; ११६:१२; १४५:७)। त्यसकारण, दाऊदझैँ हामीले पनि ख्रीष्टको चरित्र धारण गर्नको निम्ति दिनहुँ पवित्रकरणको अनुग्रह खोजी गर्नुपर्छ, र उहाँको महिमा गर्ने जीवन जिउनको लागि हामीलाई सहायता पाउन उहाँको अनुग्रह माग्‍नुपर्छ। त्यसो गर्दछौँ भने हामी परमेश्‍वरको सृष्टिको उद्देश्यअनुसार जिउने इसाईहरू भनेर चिनिएर साँच्‍चै नै खुसी र आनन्दित व्यक्तिहरू हँनेछौँ।

User Reviews